sagarmatha-icon  Free-Press-icon
Home » About us » हाम्रो बारेमा

हाम्रो बारेमा

किड्स न्यून नेपालमा तपाईलाई हार्दिक स्वगत छ ।

नयाँ पुस्तालाई साँच्चिकै जीवन उपयोगी शिक्षा दिने हो भने सिकाईका अवसरको मात्रामा विस्तार र गुणस्तरमा बृद्धि गर्नु अत्यावश्यक हुन्छ । नेपालका शिक्षालयहरुमा पाठ्यपुस्तक मात्र पढाइन्छ । सूचना र ज्ञान हासिल गर्न यी क्रियाकलापहरु पर्याप्त हुदैनन् । यसका लागि खुल्ला विद्यालय, दूरशिक्षा, सामुदायिक सञ्चार तथा सूचना प्रवृधिको सुविधा प्रयोग गरी परम्परागत शैक्षिक प्रतिष्ठानहरुलाई सहयोग र भरथेग गर्नु पर्ने हुन्छ । केटाकेटी र नवयुवालाई ताज घटना, वरिपरिका गतिविधि, विचार र विश्लेषणहरु उनीहरुकै दृष्टिकोण, सहभागिता र उनीहरुले वुझ्ने भाषामा दिनु जरुरी हुन्छ । आठ–नौ वर्षदेखि १४–१५ वर्ष उमेर समूहको नयाँपुस्ताका लागि साहित्य, कला, सञ्चारजस्ता क्षेत्रमा आवश्यक सामग्री नेपालमा उपलब्ध छैनन, जसले नयाँपुस्तालाई भरपर्दो सन्दर्भ सामग्रीको अभाव पुरा गर्न सकोस् ।

अर्कोतर्फ केटाकेटी र नवयुवाप्रति हाम्रो समाजले समान व्यवहार गर्न सकेको छैन । वृहद अनुभव, दक्षता, सीप र परिपक्ता भएका वयश्कहरु तथा नवयुवाहरुबीच समानता भनेको के हो भन्ने प्रश्न उठ्न सक्छ । घृणा, लज्जा, पीडा र आरोपको अपमानजनक बातावरणमा होइन नवयुवाले हार्दिक र निर्धक्क वातावरमा जीवन विकास र सिकाईका चरणहरु पार गर्न पाउनु उनीहरुको हक हो भन्ने कुरामा हामी सहमत छौं । तसर्थ नवयुवाका लागि समानता भनेको आदर र गरीमाका हिसावले समानता हो । उनीहरु यस कुराका लागि हकदार समेत हुन भन्नेमा हामी विश्वास राख्छौं ।

व्राजिलीयन शिक्षाशास्त्री पाउले फ्रेरेले भनेका छन– सम्वादविना सञ्चार सम्भव छैन र सञ्चारविना शिक्षा सम्भव छैन । शिक्षाशास्त्रीहरुका अनुसार सही सिकाई सान्दर्भिक तथा सामाजिक सम्वन्धहरुले भरिपूर्ण हुनुपर्छ । सञ्चारमाध्यमहरु यसखाले सम्वाद तथा सान्दर्भिक अन्तरवस्तु उपलब्ध गराउनका लागि महत्वपूर्ण अंग हुन । तर अहिलेसम्म नेपालमा सञ्चालित समाचार तथा समसायिक गतिविधिमा आधारित कार्यक्रम वयश्कहरुलाई मात्र ध्यानमा राखेर उत्पादन प्रशारण गर्ने गरिएको छ । बयश्कका लागि तयार पारिएका यस्ता कार्यक्रमहरु केटाकेटी र नवयुवाको सहभागितामूलक शैक्षिक अभ्यासका लागि आवश्यक पर्ने ताजा खुराकका भरपर्दा सन्दर्भ सामग्री बन्न सक्तैनन । नेपाली राजनीतिले सबभन्दा बढी बहक्याउन शुरु गर्ने उमेर समुहमा पनि यही वर्ग छ, जसलाई समाकालिन राजनीति, आर्थिक, सामाजिक घटनाक्रमका बारेमा कुनै जानकारी दिइने गरिएको हुँदैन् । यस अवस्थाप्रति आम अभिभावकहरु समेत चिन्तित बन्न पुगेका छन् ।

केटाकेटी र नवयुवाको यही अभाव र अभिभावकहरुको यस्तै चिन्तालाई ध्यान राखेर नवयुवाका लागि परपर्दो समसामयिक सन्दर्भ सामग्री तयार गर्न, उनीहरु राजनीतिमा लाग्न चाहे भने पनि सुसूचित निर्णय गर्न सक्ने बनाउन तथा नवयुवाको सञ्चाको अधिकारलाई स्थापित गर्न फ्रि प्रेस अनलिमिटेड, दि निदरल्याड्स(Free Press Unlimited, The Netherlands) को सहयोगमा सामुदायिक रेडियो सहयोग केन्द्र नेपाल वातावरण पत्रकार समूहले किड्स न्यूज नेपाल परियोजना शुरु गरेको छ । यस परियोजना अन्तरगत ८ देखि १५ वर्ष उमेर समूहका केटाकेटी र नवयुवाका लागि लक्षित गरेर समसामयिक विषयवस्तुमा आधारित समाचार म्यागेजिन नयाँ पुस्ता नामक साप्ताहिक टेलिभिजन र रेडियो कार्यक्रम तथा www.nayapusta.org अनलाइन न्यूज पोर्टल समेत सञ्चालन गर्छौं । नयाँ पुस्ता कार्यक्रम र न्युज पोर्टल केटाकेटी र नवयुवाका लागि आफ्ना अधिकारमा पहुँन स्थापित गर्ने, समसायिक विषयमा आफ्ना विचार र दृष्टिकोणहरु व्यक्त गर्ने साझा मञ्च हो । १५ मिनेट अवधिको नयाँ पुस्ता रेडियो कार्यक्रम काठमाडौंमा रेडियो सगरमाथा र टेलिभिजन कार्यक्रम इमेज च्यानलबाट प्रशारण हुन्छ । काठमाडौं वाहिर रहनु हुने नवयुवाका लागि सहज बनाउन हामीले स्थानीय सामुदायिक रेडियोहरुसंग पनि सहकार्य गरी प्रशारण प्रवन्ध मिलाएका छौं ।

हामीकहाँ केटाकेटी र नवयुवा सञ्चारको अधिकारका लागि विर्सिएका नागरिक हुन । यी विर्सिएका नागरिकहरुको हकका पक्षमा हामी दृढतापूर्वक उभिन चाहन्छौं । यो परियोजनाको एउटा उद्देश्य केटाकेटी र नवयुवाका लागि उत्पादन गरिने समाचारमूलक कार्यक्रम सञ्चार माध्यमको मुलप्रवाहको विषयवस्तु हो भन्ने कुरा नेपाली आमसञ्चारका माध्यमहरुलाई सम्झाउनु समेत रहेको छ ।

हामीले यो र यस्ताखाले कार्यक्रमहरु विशषेगरी सामुदायिक रेडियोहरुका लागि एउटा भरपर्दो र अति उपयोगी प्रशारण सामग्री हुन भन्ने कुरा पुष्टि गर्न र यस्तो कार्यक्रम सञ्चालन गर्न इच्छुक सामुदायिक रेडियोहरुको क्षमता विकाश गर्नका लागि हामी आफैंले यसखाले कार्यक्रम उत्पादनको अनुभव हासिल गर्न पनि शुरु गरेका हौं । हामी यो कार्यक्रम रेडियोहरुका लागि बढीमा १८ महिनासम्म निशुल्क उपलब्ध गराउने छौं । यस अवधिमा आफैं नवयुवाका लागि समाचारमूलक कार्यक्रम उत्पादन गर्न इच्छुक सामुदायिक रेडियोका लागि यसखाले कार्यक्रम उत्पादन गर्न आवश्यक जनशक्ति विकाशमा सहयोग गर्ने हाम्रो योजना रहेको छ । यस तालिममा वयश्कहरुका गतिविधि केटाकेटी र नवयुवाका लागि लक्षित कार्यक्रममा कसरी तयार गर्ने, केटाकेटी र नवयुवाका गतिविधि केटाकेटी र नवयुवालाई कसरी दिने, बाल कार्यक्रमका लागि वयश्कहरुसंग कसरी कुरा गर्ने, अर्थ, वाणिज्य, राजनीति जस्ता कठिन विषयवस्तु केटाकेटी र नवयुवालाई दिँदा कसरी दिने र रमाइला घटनाहरु कसरी केटाकेटी र नवयुवाको कार्यक्रममा समावेश गर्ने जस्ता विषय र त्यसलाई समाचार म्यागेजिनमा प्याकेजिङ गर्ने र न्यूज वुलेटिन नै उत्पादन गर्ने हो भने कसरी गर्ने भन्ने पक्षहरु समेत समावेश गरिनेछ ।

हामीलाई पूर्ण विश्वास छ, केटाकेटी तथा नवयुवा यो अभियानमा सक्रिय रुपले सहभागी हुनुहुनेछ । यसका साथै चम्किलो भविश्यका लागि क्रियाशील संघसस्था, शिक्षालय, सामाजिक तथा साँस्कृतिक संघसंगठन, राजनीतिक दल, अभिभावक र सम्पूर्ण नेपालीको यो अभियानमा पूर्ण सहभागिता, सहयोग र समर्थनरहनेछ ।

थप जानकारीका लागि
परियोजना संयोजक
किड्स न्यूज नेपाल
नेपाल वातावरण पत्रकार समूह
भनिमण्डल ललितपुर

scroll to top